शुभारम्भ अनलाइन टि.भी.

आर्थिक अवस्था उकास्ने विषय मुख्य एजेन्डाका रूपमा पर्यटकीय गन्तव्य टीकापुर

4
SHARES
28
VIEWS

टीकापुर — कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूबीच सम्पन्न पब्लिक डिबेट कार्यक्रममा टीकापुरको समग्र विकास, रानी–जमरा सिँचाइ आयोजनाको प्रभावकारी कार्यान्वयन, यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना तथा जनस्तरको आर्थिक अवस्था उकास्ने विषय मुख्य एजेन्डाका रूपमा उठाइएको छ।

स्थानीय सरोकार, रोजगारी सिर्जना र पूर्वाधार विस्तारका सवालमा उम्मेदवारहरूले आ–आफ्ना दृष्टिकोण सार्वजनिक गरेका हुन्।

शुभारम्भ अनलाइन टेलिभिजन टिकापुरको आयोजनामा सञ्चालन भएको डिबेट कार्यक्रममा जनकराज शाह (प्रगतिशील लोकतान्त्रिक पार्टी), रामबहादुर विश्वकर्मा (नेपाल कम्युनिस्ट पार्टी माओवादी), प्रदीप कुमार चौधरी (उज्यालो नेपाल पार्टी), नरेश रावल (स्वतन्त्र) र रुपाकुमारी चौधरी (आम जनता पार्टी) सहभागी हुनुभएको थियो।

उहाँहरूले टीकापुरलाई कृषि, पर्यटन र साना–मझौला उद्योगको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनामा जोड दिनुभयो।
उम्मेदवारहरूले विशेषगरी रानी–जमरा सिँचाइ प्रणालीलाई पूर्ण क्षमतामा सञ्चालन गरी कृषकको उत्पादन बढाउने, कृषि उपजको बजारीकरण सहज बनाउने र आधुनिक भण्डारण तथा प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। यसले किसानको आम्दानी बढाउने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने दाबी गरिएको छ। साथै, टीकापुर पार्क, नदी तटीय क्षेत्र र थारू संस्कृति जस्ता मौलिक पहिचानलाई जोडेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने साझा धारणा पनि व्यक्त भयो।

डिबेटका क्रममा रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रवर्द्धन, सडक तथा पुल निर्माण, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधार र पारदर्शी शासन प्रणाली स्थापना जस्ता विषयमा पनि गम्भीर छलफल भएको थियो। सहभागी उम्मेदवारहरूले “टीकापुर विकासको नयाँ युग सुरु गर्न समन्वित प्रयास आवश्यक रहेको” उल्लेख गर्दै विकासका एजेन्डामा सहकार्यको संकेत दिएका छन्।

स्थानीय बासिन्दाले पनि बहसलाई चासोका साथ हेरेका थिए। जनप्रतिनिधि बन्न आकांक्षी उम्मेदवारहरूबीच प्रत्यक्ष बहसमार्फत विकासका स्पष्ट योजना सार्वजनिक हुनु लोकतान्त्रिक अभ्यासका दृष्टिले सकारात्मक भएको नागरिकहरूको धारणा छ।

टीकापुरको समृद्ध भविष्यको खाका कोर्ने यो बहसले मतदातालाई निर्णय गर्न सहज बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित