टीकापुर, साउन १६ केही दिनअघिको एक अनलाइन अन्तर्वार्तामा टीकापुर नगरप्रमुख रामलाल डगौरा थारुले दिएको अभिव्यक्तिलाई लिएर सुकुम्बासी समुदायमा देखिएको असन्तुष्टि र आन्दोलन चुलिँदै गएपछि, नगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै ती अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ।
विज्ञप्तिमा नगर प्रमुखले “मेरो अभिव्यक्तिको कारण कसैको भावना दुखेको भए म क्षमा चाहन्छु” भन्दै, सुकुम्बासी समस्याप्रति गम्भीर ध्यान दिइएको जनाएका छन्। साथै नगरपालिकाको तर्फबाट दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकहरूको समस्या समाधान गर्न तीन तहको सरकारसँग सहकार्य गरी पहल भइरहेको जानकारी गराइएको छ।
नगर प्रमुखले हालै सरकारले जिल्लास्तरमा गठन गरेको भूमि आयोगमार्फत सुकुम्बासी र अव्यवस्थित बसो बासीको समस्या समाधानका लागि काम अघि बढिरहेको र नगरपालिकाको नेतृत्वमा रहेका पदाधिकारीहरू संवाद, समन्वय र सहजीकरणमा तयार रहेको समेत उल्लेख गरेका छन्।
साथै, आन्दोलनरत पक्षलाई थप शान्तिपूर्ण र रचनात्मक माध्यम अपनाउन आह्वान गर्दै, नगरपालिका कार्यालयको नियमित सेवा अवरुद्ध हुने गरी तालाबन्दी गर्नु उचित नभएको जनाइएको छ। समस्याको दीर्घकालीन समाधान संवाद र सहकार्यबाट मात्र सम्भव हुने भन्दै, सबै पक्षलाई संयमित र सकारात्मक भूमिका खेल्न नगर प्रमुखले आग्रह गरेका छन्।
यस विज्ञप्तिलाई पछिल्लो समयमा चुलिएको सुकुम्बासी आन्दोलनको पृष्ठभूमिमा नगर प्रमुखको ‘ड्यामेज कन्ट्रोल’ प्रयासको रूपमा हेरिएको छ।

















Discussion about this post