शुभारम्भ अनलाइन टि.भी.

कर्णाली नदीको बहाव ६ मिटर नजिक, कर्णाली तटीय क्षेत्रमा सतर्कता

44
SHARES
317
VIEWS

टीकापुर । कर्णाली नदीको जलस्तर बढ्दै गएपछि कैलालीको टीकापुर जानकीका नदी तटीय क्षेत्रमा जोखिम बढ्न थालेको छ। टीकापुर नगरपालिका विपद् शाखा प्रमुख निर्मला चौधरीका अनुसार पछिल्लो समय कर्णाली नदीको बहाव ६ मिटर आसपास पुगेको छ।
नदीको जलस्तर १०.५ मिटर पुगेपछि टीकापुर क्षेत्रमा अति जोखिमको अवस्था सिर्जना हुन सक्ने बताइएको छ। यस्तो अवस्था आएमा टीकापुर नगरपालिका–५, ६, ७ र ८ नम्बर वडा उच्च जोखिममा पर्न सक्नेछन् भने वडा नम्बर २ र वडा नम्बर १ को बजार क्षेत्रसमेत प्रभावित हुन सक्ने सम्भावना रहेको चौधरीले बताउनुभएको छ।
कर्णालीमा पानीको सतह बढ्दै जाँदा नदी कटान तथा डुबानको जोखिमसमेत बढ्ने भएकाले नदी आसपासका बस्तीका बासिन्दालाई समयमै सतर्क रहन आग्रह गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै रानी जमरा कुलरिया सिँचाइ आयोजनाका नहर तथा संरचनाबाट पानीको बहाव हुन नदिन पूर्णरूपमा बन्द गर्न आग्रह गरिएको समेत विपद् शाखा प्रमुख चौधरीले जानकारी दिनुभएको छ।
नगरपालिकाले कर्णाली नदीको जलस्तरमा निरन्तर निगरानी गरिरहेको जनाएको छ। जोखिम बढ्दै गएमा स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिने बताइएको छ।
नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक रूपमा नदीतर्फ नजान, बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न र स्थानीय तहबाट जारी हुने सूचनालाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित