टीकापुर, ०६ मंसिर । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा यस वर्ष पनि ‘सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुने भएको छ। संघले आज पत्रकार सम्मेलन गरी आगामी पुस २९ गतेदेखि माघ ११ गतेसम्म टीकापुरमा महोत्सव सञ्चालन गर्ने जानकारी दिएको हो।
संघले प्रकाशित गरेको प्रस्तावना/पोस्टर अनुसार महोत्सवले औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। विगतका वर्षहरूमा जस्तै यस पटक पनि टीकापुर तथा आसपासका जिल्लाबाट ठूलो संख्यामा दर्शक तथा सहभागी आकर्षित हुने अपेक्षा गरिएको छ।
महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषि सामाग्री, मनोरञ्जनात्मक कार्यक्रम, सांस्कृतिक प्रस्तुति, व्यापार प्रदर्शनीसहित विभिन्न स्टलहरू रहने संघले जनाएको छ। क्षेत्रीय व्यापार, पर्यटन र सांस्कृतिक समृद्धिको परिचय प्रसार गर्ने प्रमुख उद्देश्यसहित तयारी तीव्र गतिमा अघि बढाइएको आयोजक संघले बताएको छ।
टीकापुर उद्योग वाणिज्य संघका अनुसार यस वर्षको महोत्सवलाई अझ व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय भइरहेको छ। संघले महोत्सवलाई टीकापुरको आर्थिक, सांस्कृतिक र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अवसरका रूपमा लिएको छ |



















Discussion about this post