टीकापुर, साउन १५ । नगर प्रमुखको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आन्दोलनरत सुकुम्बासीहरूको चासोलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
टीकापुर नगर प्रमुखको सचिवालयबाट जारी विज्ञप्तिमा केही दिनअघि नगर प्रमुखले एक समाचार माध्यमसँग कुराकानी गर्ने क्रममा दिएको अभिव्यक्तिको सन्दर्भ अनपेक्षित रूपमा सार्वजनिक भई विवाद उत्पन्न भएकोप्रति ध्यानाकर्षण गराइएको छ। उक्त अभिव्यक्तिप्रति विभिन्न सुकुम्बासी शिविरहरूमा बसोबास गरिरहेकाहरूले आपत्ति जनाउँदै विरोध कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
विज्ञप्तिमा भनिएको छ, “शिविर स्थलगत निरन्तर समन्वय र समाधानतर्फको प्रयासमा नगरपालिकाले अहोरात्र प्रयत्न गरिरहेको छ।” संविधानले दिएको जग्गा, आवास, शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्न स्थानिय सरकार दृढ रहेको भन्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापन नगरपालिकाको उच्च प्राथमिकतामा रहेको बताइएको छ।
नगरपालिकाले सुकुम्बासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न विभिन्न सरोकारवाला निकायसँग समन्वयमा काम गरिरहेको र यसै क्रममा कहिलेकाहीं अनौपचारिक रुपमा बोलेका अभिव्यक्तिलाई अन्यथा नबुझ्न आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “नगर प्रमुखको भनाइको आशयलाई अन्यथा नबुझ्नुस्, वार्ताको माध्यमबाट समाधान खोज्न तयार छौं।” साथै हाल भइरहेको विरोध कार्यक्रमलाई शान्तिपूर्ण ढंगले स्थगन गरी नगरपालिकासँग संवाद र सहकार्य गर्न पनि आह्वान गरिएको छ।
नगर प्रमुख सचिवालयका प्रमुख लोकबहादुर बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुकुम्बासीको अधिकारप्रति नगरपालिकाको सम्मान रहेको स्पष्ट पार्दै समाधानका लागि संवादको बाटो रोज्न पुनः आग्रह गरिएको छ।




















Discussion about this post