निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल ट्रष्ट र पूर्वअधिराजकुमारी प्रेरणा शाह जोडिएको छाउनीको १५ रोपनी जग्गा प्रेरणाकै भएको दावी गरेका छन् ।
महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले त्यो जग्गा राजा वीरेन्द्रले अपुताली स्वरुप पाएकाले निजी सरह हुने बताए ।

‘प्रेरणा राणासँगको सम्बन्धित जग्गा तत्कालीन श्री ५ को होइन, तत्कालीन श्री ५ वीरेन्द्रलाई अपुतालीलाई प्राप्त भएको जग्गा हो । राज्यको त्यसमा लगानी होइन’, जबराले बयानमा भनेका छन्, ‘सरकारले यसलाई खरिद गरिदिएर राखिदिएको राजाको राजदरवारजस्तो होइन । यो नितान्त अपुताली र व्यक्तिगत सम्पत्ति हो । राजा वीरेन्द्रको स्वर्गारोहण पछाछि सम्पत्ति राजा ज्ञानेन्द्रकोमा आयो । राजा ज्ञानेन्द्रले प्रेरणालाई दाइजोस्वरुप दिए ।’
मालपोत कार्यालयमा पास गर्ने अन्तिम चरणमा रोकिएको र विवाद भएको भन्दै जबराले त्यसलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । तत्कालीन राजाको दुई प्रकारको जग्गा रहेको भन्दै उनले सार्वजनिक सम्पत्ति मात्रै राष्ट्रियकरण भएको दावी गरे ।
‘हामीले फैसला गर्दाको अवस्थासम्ममा प्रेरणालाई दाइजो स्वरुपमा दिएको, पास गर्नलाई मालपोत कार्यालयमा गएको, पास हुन बाँकी रहेको यो सम्पत्ति निजी सम्पत्ति हो,’ जबराले बयानमा भने, ‘व्यक्ति मरेपछि अपुताली त छ नि । अपुताली खाने छँदैछ नि । राजा व्यक्ति होइन र ? उसको निजी सम्पत्ति उसको सन्तानले अपुताली पाउँदैन र ?’
तत्कालीन राजा ज्ञानेन्द्रले समेत आफ्नो निजी सम्पत्तिमा आफूखुसी गर्न स्वतन्त्र हुने भन्दै उनले आफूहरुको फैसलापछि ‘हौवा फिजाइँएकाले’ आफू समेतले गरेको फैसला उल्टिएको दावी गरे ।
उनले आफू प्रधानन्यायाधीश भएपछि समेत सर्वोच्च अदालतमा प्रेरणाको तर्फबाट रिट निवेदन दर्ता भएको तर त्यसमा आफ्नो कुनै भूमिका नभएको दावी गरे । ‘मुद्दा ल्याउन प्रधानन्यायधीशले कसैलाई प्रेरणा दिन्छ र ? उसका(प्रेरणाका) कानून व्यवसायी छैन र ?’ जबराले बयानमा भने, ‘बहस गर्ने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की ? प्रधानन्यायधीशले बद्रीबहादुर कार्कीलाई प्रयोग गरेको होला ? यो गलत हो, यस्तो चिज होइन ।’



















Discussion about this post