शुभारम्भ अनलाइन टि.भी.

आफ्नी छोरीसँग प्रेम गरेको निहुँमा शिक्षकले गरे विद्यार्थीमाथि निर्घात कुटपिट

11
SHARES
81
VIEWS

दाङमा एक जना शिक्षकले आफ्नी छोरीसँग प्रेम गर्न खोजेको भन्दै विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।

राजपुर गाउँपालिका वडा नं. ३ स्थित जनज्योति माध्यामिक विद्यालय बेलामा कक्षा १२ मा पढ्ने १९ वर्षीय मन्साराम यादवलाई सोही विद्यालयका निमावि राहत शिक्षक पाटेश्वर यादवले निर्घात कुटपिट गरेका हुन्।

कुटपिटबाट घाइते मन्सारामको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।

शिक्षक यादवले सोही विद्यालयमा पढ्ने १९ वर्षकी आफ्नी छोरीसँग प्रेम गर्न खोजेको भन्दै छोरीलाई फोन गर्न लगाइ एकान्तमा बोलाएर चारैतिरबाट घेरा हाली निर्घात कुटपिट गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई जानकारी दिए।

‘छोरीलाई प्रेम गरेको बहानामा एकान्तस्थलमा बोलाई पाँच जना मिलेर विद्यार्थीमाथि निर्घात कुटपिट भएको रहेछ,’ एसपी काफ्लेले भने, ‘घटनाबारे थाहा पाएर पुगेको प्रहरीले पीडितलाई राति नै बेला चोकबाट उद्धार गरी अस्पताल पुर्‍याएको थियो।’

कुटाइ खाएका विद्यार्थीको तर्फबाट आफन्तले इलाका प्रहरी कार्यालय गढवामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन्। इप्रका गढवाकी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले पीडित विद्यार्थीको तर्फबाट परेको निवेदनमा मन्सारामले केटी र आफूबीच प्रेम सम्बन्ध रहेको हुँदा त्यही बहानामा केटीमार्फत् आफूलाई राति एकान्तस्थलमा बोलाएर नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगले आक्रमण भएको भनेर जाहेरी दिएका छन्।

विद्यार्थी मन्साराममाथि केटीका बुवा, ठूलो बुवा र तीन छोराहरू मिलेर लाठी र मुक्का तथा लात्ताले कुटपिट गरेको केसीले बताइन्।

प्रहरी निरीक्षक केसीका अनुसार घटना २१ गते राति दश बजेतिरको हो।

घटनाबारे थाहा पाएर प्रहरी राती नै पुगी उद्धार गरे घाइतेलाई लमही अस्पताल पुर्‍याएको केसीले जानकारी दिइन्।  कुटपिटबाट मन्सारामको अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो निलडाम तथा घाउ रहेको उनले जानकारी दिइन्।

कुटपिटमा संलग्नमध्ये केटीका बुवा तथा शिक्षक ३७ वर्षीय पाटेश्वर यादव र उनका दाजु ४० वर्षीय धिरबहादुर यादवलाई साउन २३ गते नियन्त्रणमा लिइएको छ। कुटपिटमा संलग्नमध्ये उनीहरूका तीन छोराहरू फरार रहेको तथा खोजी कार्य जारी रहेको केसीले बताइन्।

राजपुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रामप्रसाद यादवले पनि शिक्षक पाटेश्वरले छोरीलाई आफ्नै मोबाइलबाट मन्सारामलाई फोन गरी एकान्तस्थलमा बोलाइ नियन्त्रणमा लिएर घरमै लगेर निर्घात कुटपिट गरेको तथ्य खुल्न आएको सेतोपाटीलाई बताए।

‘बुवाको दबाबले गर्दा केटीले नै आफ्नो मोबाइलबाट केटालाई फोन गरी तीजको नाच हेर्न जाऔं भनेर बेलुका ९ बजेतिर बेला स्कुल नजिकै बोलाएकी रहिछन्,’ अध्यक्ष यादवले भने ‘केटा केहीबेरमा बेला स्कुलको चौरनेर पुग्नासाथ चारै तर्फबाट घेरा हाली समातेर घरमा पुर्‍याई निर्घात कुटपिट गरेका रहेछन्।’

वडाध्यक्ष यादवका अनुसार यादव समुदायमा आफूखुसी प्रेम विवाहलाई गम्भीर अपराध वा चोरीको रूपमा लिने गलत सोच भएका कारण केटामाथि निर्घात कुटपिट भएको हुन सक्ने तर्क गरे।

केटाकेटी दुबै यादव थरकै हुन् र उनीहरू सँगै पढ्थे।

‘उनीहरूबीच फोनमा कुराकानी हुँदो रहेछ,’ वडाध्यक्ष यादवले भने, ‘त्यो थाहा पाएर बाबुकै योजनामा कुटपिट भएको रहेछ।’

घटनाको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (कान्तिकारी) जिल्ला समिति दाङले विज्ञप्ति निकालेको छ।

अखिल (क्रान्तिकारी) का दाङ संयोजक गिरबहादुर महराले जारी गरेको गरेको विज्ञप्तिमा कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनु पर्ने माग गरिएको छ।        साभार सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित