शुभारम्भ अनलाइन टि.भी.

टीकापुर गौशाला समस्या : किसान आन्दोलित, समाधानका लागि नगरपालिका–स्थानीयबीच सहमति

18
SHARES
128
VIEWS

टीकापुर, १४ पुस । टीकापुर नगरपालिकामा अवस्थित टिकापुर गौशालाबाट भागेका गाईहरूले खेतबारीको बाली सखाप पारेपछि प्रभावित किसानहरू आन्दोलित भएका छन् । पटक–पटक नगरपालिका समक्ष क्षतिपूर्ति माग गर्दै गौशालालाई व्यवस्थित गरी गाईको सुरक्षा गर्न अनुरोध गर्दा पनि समस्या समाधान नभएको गुनासो गर्दै स्थानीय नागरिकहरू टिकापुर नगरपालिकामा धर्ना दिन पुगेका हुन्।
गौशालाबाट भागेका गाईका कारण निरन्तर बाली नष्ट हुँदै आएको भन्दै गौशाला प्रभावित क्षेत्र वरपरका नागरिकहरूले नगरपालिकामाथि दबाब दिन धर्ना थालेपछि आज टिकापुरको चिल्ड्रेन पार्कमा छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफलमा टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल थारु, वडा नम्बर २ का वडाध्यक्ष दीपक चौधरी, वडा नम्बर २ र ५ का विभिन्न राजनीतिज्ञ, समाजसेवी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

छलफलपछि टिकापुर नगरपालिकाको प्राविधिक टोली प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने र गौशाला भित्रका गाई बाहिर भाग्न नपाउने गरी घेरबार गर्ने सहमति जुटेको छ। साथै, गाईसँगै जंगली जनावरबाट समेत सुरक्षा हुने गरी सो क्षेत्रको वन क्षेत्रमा तारबार लगाइने निर्णय गरिएको छ।
नगरप्रमुख रामलाल थारुले कानुनी प्रक्रिया अपनाएर इस्टिमेटको आधारमा आवश्यक बजेट व्यवस्थापन गरी केही समयभित्रै समस्या समाधान गरिने प्रतिबद्धता नागरिकहरूसमक्ष व्यक्त गर्नुभएको छ।

उहाँले किसानहरूको पीडालाई गम्भीर रूपमा लिइएको बताउँदै दीर्घकालीन समाधानतर्फ नगरपालिका अग्रसर रहने स्पष्ट पार्नुभयो।स्थानीयवासीहरूले सहमति कार्यान्वयन भएमा समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् भने कार्य समयमै अघि बढाउन नगरपालिकासँग आग्रह गरेका छन ।

छलफलमा सहभागी सर्वसाधारण किसानहरूले सहमति अनुसार काम समयमै अघि नबढे र समस्या यथाशीघ्र समाधान नभए आन्दोलनका कार्यक्रम अझ तीव्र र जटिल बनाउँदै जाने चेतावनी समेत दिएका छन्। किसानहरूले आफ्ना बाली जोगाउने सुनिश्चित व्यवस्था नभएसम्म दबाबका कार्यक्रम नरोकिने स्पष्ट पार्दै नगरपालिकाले गरेको प्रतिबद्धता व्यवहारमा उतारिनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित