टीकापुर-२७ कार्तिक। कर्णाली माध्यमिक विद्यालय टीकापुरले बिहीबार सामाजिक परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
शिक्षक अभिभावक संघका अध्यक्ष रतन बहादुर टमट्टाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक परीक्षण समितिका सदस्य भक्तिराम कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार विद्यालयले शैक्षिक सत्र २०८१ मा ६ करोड ५८ लाख ४६ हजार ७ सय ४ रुपैयाँ बराबरको कारोबार गरेको र दुई करोड ६९ लाख ७४ हजार ७४ रुपैयाँ बचत गरेको उल्लेख गर्नुभएको थियो।
सामाजिक परीक्षण अनुसार विद्यालयले १०० मा ९२ अंक प्राप्त गरेको जनाएको छ। टीकापुर नगरक्षेत्रभित्र सबैभन्दा बढी विद्यार्थी संख्या रहेको यस विद्यालयमा सो सत्रमा दुई हजार ९५ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइएको थियो।
प्रतिवेदनमा विद्यालयको सिकाइ उपलब्धि क्रमशः सुधारोन्मुख रहेको देखाइएको छ। कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले कर्णाली माध्यमिक विद्यालय नगरपालिका भित्रकै उत्कृष्ट विद्यालयका रूपमा परिचित रहँदै आएको बताउनुभयो। उहाँले विद्यालयका सकारात्मक अभ्यासहरूलाई अन्य विद्यालयले पनि अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, आर्थिक व्यवस्थापन र शैक्षिक उपलब्धिका दृष्टिले विद्यालय आदर्श उदाहरण बन्न सफल रहेको बताउनुभयो।
त्यसैगरी वडा नं. १ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन विकले विद्यालय अभिभावकसँग अझ नजिक हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा खड्ग स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक झनकराज ओझा, नगर शिक्षा समितिका सदस्य जोगी रावल, अभिभावक रामेश्वर रेग्मीलगायतले आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको स्वागत प्रधानाध्यापक धर्मराज शर्माले गर्नुभएको थियो भने सञ्चालन शिक्षक हरिश अवस्थीले गर्नुभएको थियो।



















Discussion about this post