टीकापुर, साउन ९ । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी एकता समाज, नगर समन्वय समिति टीकापुर–१ ले नगरप्रमुखको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
विज्ञप्तिमा नगरप्रमुखले दिएको अभिव्यक्तिले वास्तविक सुकुम्बासीहरूको पहिचान र अधिकारमाथि कुठाराघात गरेको आरोप लगाइएको छ। उनीहरूका अनुसार २०६२ सालदेखि भोगचलन गर्दै आएको जमिनमा राष्ट्रिय भूमि आयोगमार्फत निस्सा समेत बनिसकेको अवस्था छ, तर अहिले सोही बस्तीलाई अवैधानिक भन्दै हटाउने प्रयास गरिनु गम्भीर अन्याय हो।
समाजले प्रश्न उठाएको छ: “निर्वाचनताका यही बस्तीलाई वैधानिक भन्दै मत मागिएको थियो, अहिले आएर बस्ती उठाउनुपर्छ भन्ने कुरा कत्तिको नैतिक र कानुनी हो ?”
विज्ञप्तिमा भनिएको छ, “हामीलाई भोट माग्दा कानुनी बनाइदिन्छौं भनिएको बस्ती, अहिले आएर अवैधानिक बनाउने निर्णय हाम्रो आत्मसम्मानमाथि अपमान हो।”
समाजले स्पष्ट रुपमा चेतावनी दिएको छ । कुनै पनि बहानामा उनीहरूको पहिचान मेटाउने वा अधिकार खोस्ने प्रयास भयो भने शान्तिपूर्ण तर सशक्त प्रतिरोध गर्न पछि नपर्नेछ।



















Discussion about this post