टीकापुर, २३ साउन । टीकापुर नगरपालिकाका विभिन्न वडामा घरपालुवा जनावरमाथि चितुवाको आक्रमण बढ्दै गएपछि टीकापुर नगरपालिकाले चितुवाको खोजी कार्यका लागि पहल गर्नेभएको छ।
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालवीर चौधरीको अध्यक्षतामा सुरु आकस्मिक बैठकले बाघको खोजी गर्ने लगायतका निर्णयहरु गरेको छ ।
बुधबार दिउँसो नगरप्रमुखको कार्यकक्षमा विभिन्न सरोकारवाला पक्षहरूसँग भएकाे आकस्मित बैठकले चितुवा प्रभावित क्षेत्रमा माइकिङ गर्ने, चितुवाले मारेका घरपालुवा जनावरहरूको क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालयसँग आग्रह गर्ने र चितुवाको खोजीमा पहल गर्ने जस्ता विषयहरुमा छलफल भएको थियो।
उक्त छलफलमा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी, इलाका प्रशासन कार्यालयका प्रमुख भूमीश्वर पोख्रेल, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख विश्वराज अधिकारी, डिभिजन वन कार्यालय पहलमानपुरका अधिकृत राम विचारी ठाकुर लगायतको सहभागिता रहेको थियो।
केही दिन यता कैलालीको टीकापुर नगरपालिकामा दैनिक जसो अज्ञात रुपमा पाँच छ वटा बाख्रा मार्दै आइरहेको छ। कतिपय स्थानीयहरूले भने कुकुरको झुण्डले पनि यो घटना घटाएको हुन सक्ने अनुमान समेत गरिएको छ।



















Discussion about this post