
बागलुङ, साउन २३
बागलुङमा बुबाको बेहोसीका कारण १५ महिने छोरीले मृत्युवरण गरेकी छिन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्नतिर जंगलमा लगेर छाडेका थिए। चौबिस घन्टासम्म जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन्।
शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जंगलमा भेटिएकी थिइन्। उद्धारपछि अस्पताल ल्याउँदाल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए।
अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो। त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो।
स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पुर्याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो।
‘बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्। सास पनि राम्रै फेरेझैं लाग्थ्यो,’ गौतमले भने, ‘अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे।’
‘अर्जमदेखि खबरा जाने सडक नजिक गैंडाराको जंगलमा भेटिएकी थिइन्। झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो। तर भित्र गम्भीर असर गरिसकेको रहेछ,’ उनले भने।
रूँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए। रातभरको वर्षाले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताए।



















Discussion about this post