
२7 मंसिर, काठमाडौं । अर्थशास्त्र नजानेको भनेर आफ्नो आलोचना गर्नेहरुमाथि लक्षित गर्दै अर्थमन्त्री जनार्दन शर्माले बुधबार एक कार्यक्रममा चर्को स्वरले भने, ‘म अर्थशास्त्र जानेको मान्छे होइन, तर देशलाई आत्मनिर्भर बनाउन कुन उपाय अपनाउनपर्छ भन्ने मलाइ थाहा छ ।’
शर्माले सार्वजनिक मञ्चहरुबाट दिएका अभिव्यक्ति र सुनाएका योजनालाई लिएर पूर्वअर्थमन्त्रीदेखि अर्थविदसम्मले अर्थमन्त्रीको अर्थशास्त्रीय ज्ञान, दृष्टिकोण र कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन् । अर्थमन्त्रीले बुधबार आफ्ना आलोचकहरुलाई नाडा अटोमोबइल्स डिलर एसोसिएसनको मञ्चमार्फत जवाफ फर्काएका छन्, ‘आत्मनिर्भर अर्थतन्त्र बनाउनेभन्दा बाहिरको अर्थशास्त्र जान्न जरुरी छैन ।’
अर्थविद डा. डिल्लीराज खनालको भनाइमा वर्षौंदेखि नेपाली अर्थतन्त्रका समस्या र सरकारहरुको काम गराइ ‘बिजनेस एज युजल’ छ ।
यसैपनि नेपालमा अर्थमन्त्री बनेका धेरैजसो नेता अर्थशास्त्री थिएनन् । अर्थशास्त्रमा धुरन्धर मानिएका अर्थमन्त्रीहरुले पनि अर्थशास्त्रीय ज्ञान अनुरुपको ‘पर्फर्मेन्स’ देखाउन सकेनन् ।
अर्थतन्त्रको वृहत्तर विकासको नारा दिएका अर्थ मन्त्रालयको बागडोर सम्हाल्नेहरुले कहिल्यै नतिजा दिन सकेनन् । परिणाम, अर्थतन्त्र सँधै अस्थिर रह्यो, जोखिमको धारमा हिँडिरहनु पर्यो ।
त्यही कमजोरी लुकाउन अनेक तर्क गर्ने आफ्नो क्षमतामाथि उठेका प्रश्न छल्न आत्मनिर्भर र सबल अर्थतन्त्रबारे भाषण गर्ने परिपाटी पुरानै हो ।
अहिले पनि अर्थमन्त्रीको भनाइसँग अर्थतन्त्रको अवस्था मेल खाइरहेको छैन । अर्थमन्त्री शर्मा यसैवर्ष ७ प्रतिशत वृद्धिको जग हालिसकेको दावी गरिरहेका छन् । बिहीबार ‘अर्थतन्त्र, वर्तमान आर्थिक परिदृश्य र अर्थ मन्त्रालयका काम कारबाही तथा योजना’बारे संसदको अर्थ समितिमा भएको छलफलमा पनि अर्थमन्त्री शर्माले ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने दावी गरे ।
जबकी अर्थशास्त्रीहरुको नजरमा अर्थतन्त्र संकटतिर गइरहेको छ । नेकपा एमाले सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पनि ‘समस्याले हल्लिरहेको नेपालको अर्थतन्त्र महामारीको अर्को लहरले धक्का दिए दुर्घटनामा पर्ने’ बताउँछन् ।
त्यसबाट बच्न अर्थमन्त्री शर्माले ‘अर्थतन्त्रको आजको अवस्थाको दोष आफ्नो होइन, हिजोका सरकारको हो’ भन्ने अर्को तर्क पेश गरे । ‘हालको अर्थतन्त्रको अवस्था हिजोको अर्थनीति र योजनाको नतिजा हो । सबै कुरा आजै, अहिल्यै हामीले नै सुधार्न सकिन्न, हामीले गरेको कामको नतिजा भविष्यमा देखिन्छ’, अर्थमन्त्री शर्माले भने ।
कुरा चर्को, नतिजा अर्को
अर्थतन्त्रका जानकारहरुका अनुसार अर्थमन्त्री भएपछि ५ महिनामा शर्माले दिएका धेरै निर्देशन तथा अघि सारेका थुप्रै योजना ‘हावादारी’ सावित भइसकेका छन् ।
२८ साउनमा आन्तरिक राजस्व विभागको बिफ्रिङ लिने क्रममा अर्थमन्त्री शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना बुझाउन निर्देशन दिएका थिए । ‘चलिराखेकै छ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन,’ ब्रिफिङ सुनेपछि निर्देशन दिने क्रममा उनले भने, ‘एक पटक राम्रोसँग सोच्नुहोस्, राजस्व संकलन बढाउन सकिने उपाय तपाईंहरु आफैंले फेला पार्नु हुनेछ ।’
राजस्व दोब्बर पार्न कि दर बढाउनुपर्छ कि त दायरा । करको दर बढाउँदा जनता मारमा पर्छन् र सरकारको आलोचना हुने अवस्था छ भने दायरा बढाउन ‘स्पेस’ कम छ । यसले विभागले अर्थमन्त्रीको निर्देशन सुने–नसुनेझैं गरिदियो ।
आफ्नो निर्देशन सुनुवाइ नगरेको भन्दै ३० भदौमा आन्तरिक राजस्व विभागको कार्यक्रममा भने, ‘राजस्व दोब्बर पार्ने कुरा मैले जानीजानी भनेको हो, भाषण गर्नलाई होइन, मैले योजना मागेको हुँ, त्यो योजना अहिलेसम्म आएन ।’

















Discussion about this post