टीकापुर, १५ पुस । बढ्दै गएको शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै ब्राह्मण समाज टीकापुर कार्यसमितिले आजदेखि १० दिनसम्म न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ। कार्यक्रममा यस क्षेत्रका विपन्न, आर्थिक रूपमा कमजोर, असहाय तथा अशक्त व्यक्तिहरूलाई लक्षित गरी न्यानो कपडा उपलब्ध गराइनेछ।
ब्राह्मण समाजका केन्द्रीय सदस्य झनक राज तिमिल्सिना र प्रतिनिधी धनराज उपाध्यायले कार्यक्रम सफल बनाउन यस क्षेत्रका सम्पूर्ण उद्योगी, व्यापारी तथा नागरिकहरूलाई कपडा सहयोग गर्न अपिल गर्नुभएको छ। साथै, आसपासका आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई न्यानो कपडा लिन आउन आग्रह पनि गरिएको छ।
आज टीकापुरमा आयोजित उद्घाटन कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बिक लुहारले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको हो।
कार्यक्रमले शीतलहरको समयमा गरिब तथा असहाय नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
ब्राह्मण समाज टीकापुर नगर कार्यसमिति अध्यक्ष डम्बर उपाध्याय रिमालको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको सञ्चालन नगर सचिव आत्माराज उपाध्यायले गर्नुभएको थियो।



















Discussion about this post