टिकापुर, भदौ १४ । टीकापुर नगरपालिकाले पछिल्लो समय ‘गुलाब सिटी’ को परिकल्पना अघि सारेको छ। तर यथार्थमा भने नगरवासीहरू खाल्डाखुल्डी, हिलो र धुलोमै जीवन बिताउन बाध्य छन्।
टीकापुरको प्रमुख केन्द्र खडक चोकदेखि सिद्धार्थचोक जोड्ने मुख्य सडकसहित मुनुवा रोड, पार्क रोड, आँखा अस्पताल रोड, घण्टाघर पछाडिको सडकलगायत भित्री सडकहरूमा ठूला–ठूला खाल्डा र वर्षामा जमेको पानीले आवतजावत निकै कठिन बनेको छ।
स्थानीय व्यापारी र बासिन्दाले नगर प्रमुखलाई नै लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनीहरू भन्छन्, “नगर प्रमुखले गुलाब सिटी देखाउने सपना देखे तर बजारभित्र हिँड्ने जनतालाई भने हिलो र धुलोमै छाडिदिए।”
व्यापारीहरूले आक्रोश पोख्दै भनेका छन्, सडकको अवस्था यस्तै रह्यो भने खाल्डोमा माछापालन गर्ने अवस्थासम्म आउन सक्छ। उनीहरूको भनाइमा, गुलाब सिटीको प्रचार गर्ने भन्दा पहिले नगरपालिकाले जनतालाई सहज आवतजावत हुने सडक उपलब्ध गराउनुपर्छ।
सडक मर्मत र दीर्घकालीन समाधानमा ध्यान दिन नगरवासीहरूले नगरपालिकालाई पुनः चेतावनी दिएका छन्।



















Discussion about this post