रानी जमरा कुलरिया नहरमा भएको दुर्घटनापछि सिडिओ लम्सालसहितको टोलीद्वारा स्थल निरीक्ष
टीकापुर, ७ कार्तिक । कैलालीको जानकी गाउँपालिका–५ गुजरुवास्थित सातविघा नजिकै रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा तीन बालिकाको डुबेर मृत्यु भएको घटनापछि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको नेतृत्वमा टोलीले शनिबार घटनास्थल पुगेर निरीक्षण गरेको छ।
लम्सालको नेतृत्वमा पुगेको टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र सिचाइ आयोजनाका प्राविधिकहरू सहभागी थिए। टोलीले नहर क्षेत्रको सुरक्षा अवस्था, जनसुरक्षासँग सम्बन्धित सावधानी र भविष्यमा यस्ता घटना नदोहरिने उपायबारे स्थानीयसँग छलफल गरेको थियो।
शुक्रबार बिहान नुहाउने क्रममा नहरमा डुबेर टीकापुर नगरपालिका–१, ब्लक नं.–१५ की जुम्ल्याहा दिदीबहिनी निशा वजगाईं र मानुषी बजगाईं, तथा जानकी गाउँपालिका–५, गुजरुवाकी सुलोचना तिमिल्सैनाको ज्यान गएको थियो।
मृतकका आफन्तका अनुसार निशा र मानुषी जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा–५ मा र सुलोचना सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा–४ मा अध्ययनरत थिइन्। निशा र मानुषी आफन्तकहाँ आएका बेला साथीसँग नुहाउन नहर गएका थिए।
मृतकहरूलाई नहरबाट स्थानीयवासीले उद्धार गरी टीकापुर अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनीहरूको शव परीक्षणका लागि अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



















Discussion about this post