३० चैत, काठमाडौं
नेकपा एमालेको ललितपुर महानरपालिका कमिटीले मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको नाम सिफारिस गरेको छ ।
एमाले नेताहरुका अनुसार व्यञ्जनकारले नै मेयरको टिकट पाउने सम्भावना बढी छ । किनकी अर्का आंकाक्षी प्रेम महर्जनले यसपटक मेयरमा दाबी नै गरेनन् ।
सत्तारुढ गठबन्धनले महानगरपालिकामा भागवण्डा गरेको छैन । तर गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले मेयरमा दाबी नगरेकाले ललितपुरको मेयर कांग्रेसले पाउने सम्भावना बढी छ ।
कांग्रेसबाट वर्तमान मेयर चिरिबाबु महर्जनसँगै प्रेमकृष्ण महर्जन आकांक्षी छन् । दुबै कांग्रेसको संस्थापन समूहका हुन् । प्रेमकृष्णलाई केन्द्रीय सदस्य उदयशमशेर राणा, जीतजंग बस्नेतलगायतको साथ छ भने चिरिबाबुलाई पूर्वजिल्ला सभापति मदन अमात्य लगायतका नेताहरुले अघि बढाएका हुन् । सभापति शेरबहादुर देउवाको ‘प्रिय’ भएकाले चिरिबाबुले नै मेयरको टिकट पाए आश्चर्य मान्नु नपर्ने कांग्रेस ललितपुरका एक नेता बताउँछन्
२०७४ को स्थानीय चुनावमा एमालेले राप्रपासँग तालमेल गरेको थियो भने कांग्रेस र माओवादी केन्द्र एक्लाएक्लै लडेका थिए । वैकल्पिक राजनीतिको नारा लिएको तत्कालीन साझा पार्टीले स्थानीय स्तरमा लोकप्रिय उम्मेदवार उठाएको थियो ।
साझाका रमेश महर्जनले १३ हजार ४५८ मत ल्याए । धेरै तटस्थ भोट उनले पाइएको मानिन्छ । माओवादीका उम्मेदवार दिनेश महर्जन (दीपेश) ले पनि १० हजार ६६१ मत पाएका थिए । रमेश र दिनेशले सम्मानजनक मत पाएपछि मेयरमा कांग्रेसका चिरिबाबु र एमालेका हरिकृष्णबीच कडा प्रतिस्पर्धा भएको थियो । र, व्यञ्जनकारलाई ३२३ मतान्तरले हराएर महर्जन मेयर बनेका थिए ।
यो पटक परिस्थिति फेरिएको छ । २०७४ मा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले माओवादी केन्द्रको साथ पाउनसक्छ । माओवादी ललितपुरका जिल्ला संयोजक शिव कट्टेल भन्छन्, ‘गठबन्धन भएको अवस्थामा कांग्रेसले मेयर लिएपछि हामी उपमेयर लिन्छौं ।’ अघिल्लो चुनावमा माओवादीले चार वटा वडा जितेको थियो र उसका वडाध्यक्षका उम्मेदवारहरुको कुल मत १४ हजार ५४६ हुन्छ ।
कांग्रेसको मतमा माओवादीको मत जोड्दा एमालेको भन्दा मेयरमा ११ हजार ७६६ मत बढी देखिन्छ । जबकी एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले पाएको मतमा राप्रपाबाट पाएको करिब तीन हजार ५०० पनि छ ।



















Discussion about this post